काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् उत्पादनको क्षमतालाई हेरेर प्रसारण लाइन विस्तारको गुरुयोजना निर्माण गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना’सम्बन्धी छलफलमा उनले भविष्यमा हुने उत्पादन क्षमतालाई हेरेर प्रसारण गुरुयोजना निर्माण गर्नुपर्ने बताए ।
“एउटै नदीबाट कति मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसको मूल्याङ्कन गरेर प्रसारण लाइनको गुरुयोजना निर्माण गर्नुपर्छ, उत्पादन भएपछि गुरुयोजना बनाउने होइन, उत्पादन हुनुपूर्व नै गुरुयोजना बन्नुपर्छ”, ऊर्जामन्त्री खड्काले भने ।
उनले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्यलाई पूरा गर्नका लागि प्रसारण लाइनमा चाहिने आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे । मुलुकको आम्दानीको मुख्य क्षेत्र ऊर्जा भएकाले यसको विकासमा विशेष योजना बनाउनुपर्ने उनको भनाइ थियो ।
्
ऊर्जामन्त्री खड्काले काम गर्ने सिलसिलामा अप्ठ्यारो देखाएर अल्झने ठाउँ नभएकाले अप्ठ्यारा सबैलाई हटाएर अगाडि बढ्नुपर्ने बताए । उनले प्रसारण लाइन विस्तारमा निजी क्षेत्रलाई आबद्ध गराउन लागिएकाले काम गर्नका लागि लगानी जुटाउन आग्रह गरे ।
ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले निजी क्षेत्रलाई प्रसारण लाइनमा फाइदा भएको कुरा बुझाएर लगानी गर्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रको विकास सरकार एक्लैले गर्न नसक्ने भएकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा विज्ञ प्रवल अधिकारीले देशको आर्थिक रुपरेखा बदल्न ऊर्जा क्षेत्रको विकास आवश्यक रहेको बताए । उनले भर्खरै निर्माण भएको प्रसारण गुरुयोजनालाई आवश्यकताअनुसार परिमार्जन गर्दै अगाडि बढ्न सकिने उल्लेख गरे । ऊर्जा विज्ञ अधिकारीले प्रसारण लाइनको क्षेत्रमा ग्रीड कम्पनीसँगै नेपाल विद्युत् प्राधिकरणले काम गरेकाले एकअर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकको आवश्यकताका आधारमा प्रसारण लाइन निर्माण गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानीको आवश्यकता रहेको उल्लेख गरे ।
FACEBOOK COMMENTS