काठमाडौं । विदेशमन्त्री अब्बास अराघची नेतृत्वको इरानी प्रतिनिधिमण्डल आइतबार जेनेभा पुगेको छ ।
मंगलबारबाट सुरु हुने अमेरिका–ईरान अप्रत्यक्ष परमाणु वार्ताको दोस्रो चरणमा उनीहरूले ईरानको टोलीको नेतृत्व गर्नेछन् ।
इरानी विदेश मन्त्रालयका अनुसार प्रतिनिधिमण्डल कूटनीतिक तथा प्राविधिक टोलीसहित वार्ताका लागि प्रस्थान गरेको हो । वार्तामा ओमान ले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
यो बैठक यस महिनाको सुरुमा ओमानको मस्कटमा भएको पहिलो चरणपछि हुन लागेको हो, जसले महिनौँदेखि रोकिएको संवाद प्रक्रिया पुन: सुरु भएको संकेत दिएको छ । बढ्दो क्षेत्रीय तनाव र अमेरिकी सैन्य तयारीबीच वार्ता हुन लागेको हो ।
वार्तामा ईरानको युरेनियम संवर्धनको सीमा, अन्तर्राष्ट्रिय निगरानी संयन्त्र तथा अमेरिकी प्रतिबन्धमा राहतजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ । जेनेभा बसाइका क्रममा अराघचीले स्विस तथा ओमानी अधिकारीसँग भेटघाट गर्नुका साथै अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी का महानिर्देशक राफेल ग्रोसी सँग पनि भेट गर्ने कार्यक्रम छ ।

ईरानले दुवै पक्षलाई आर्थिक लाभ हुने नयाँ परमाणु सम्झौता चाहेको जनाएको छ । सन् २०२५ को मध्यतिर भएको १२ दिने संघर्ष र गत वर्ष इजरायल सँगको तनावपछि वार्ता रोकिएको थियो ।

हाल ईरानसँग उच्च स्तरमा संवर्धित युरेनियमको ठूलो भण्डार रहेको भन्दै अन्तर्राष्ट्रिय चिन्ता बढेको छ । तर ईरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।

यसैबीच संयुक्त राज्य अमेरिका ले मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै युएसएस अब्राहम लिंकन र युएसएस गेरल्ड आर फोर्ड विमानवाहक पोत तैनाथ गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक इरान सहमतिमा नआएमा बल प्रयोग गर्ने चेतावनी दिदै मध्यपूर्वमा आफ्नो सैन्य शक्ति तैनाथ गरेर दबाब दिदै आएका छन् ।