एजेन्सी । पछिल्लो एक वर्षमा ४० प्रतिशतभन्दा बढी श्रमिकको वास्तविक आम्दानी घटेको एक श्रम बजारसम्बन्धी प्रतिवेदनले देखाएको छ । यो प्रतिवेदन बिहीबार रोजगारी खोज्ने वेबसाइटले सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार, संयुक्त राज्यमा असार महिनामा श्रमिकलाई दिइने तलब वार्षिक रूपमा २.९ प्रतिशतले बढेको थियो, भने सोही अवधिमा उपभोक्ता मूल्य सूचकाङ्क २.७ प्रतिशतले वृद्धि भएको थियो ।
यो सानो अन्तरका कारण करिब ४३ प्रतिशत श्रमिकको तलब मूल्यवृद्धिसँग मेल खाएन, जसले उनीहरूको वास्तविक खरिदशक्ति घटाएको छ । प्रतिवेदनमा विश्वव्यापी महामारीपछिको अवस्थाबाट केही सुधार भए तापनि, धेरै मानिसहरू अझै पनि आवास, खाना र यातायातजस्ता आवश्यक वस्तुहरूको उच्च मूल्यका कारण समस्या झेलिरहेका भनिएको छ ।
उक्त प्रतिवेदन अनुसार, तलबमा देखिएको वृद्धिको फाइदा मुख्यतया उच्च आय भएका पेसामा सीमित छ । विद्युत् इञ्जिनियरिङ, कानुनी सेवा र बजार व्यवस्थापन क्षेत्रहरूमा वार्षिक ६ प्रतिशतभन्दा बढी तलब वृद्धि भएको छ । तर, खाना पकाउने, बालबालिका हेरचाह गर्ने तथा व्यक्तिगत सेवा दिनेजस्ता परम्परागत रूपमा कम तलब हुने कामहरूमा तलब वृद्धि घ टेको देखिन्छ ।
यो तलब वृद्धिमा देखिएको असमानताले कम आय भएका श्रमिकमा असन्तुष्टि बढाएको छ, जसले उनीहरूलाई दैनिक खर्च धान्न थप गाह्रो बनाएको छ ।
प्रतिवेदनमा यस्ता असमानताले संयुक्त राज्यको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिने घरायसी खर्चमा असर पार्न सक्ने चेतावनी दिइएको छ । यद्यपि वस्तुको मूल्य वृद्धिमा केही कमी आएको भए पनि, तलब वृद्धिको गति सुस्त हुँदा धेरै श्रमिक अझै पनि आर्थिक कठिनाइमा छन् ।
“श्रम बजार बलियो देखिन्छ, तर यसको फाइदा सबै वर्गमा समान रूपमा पुगेको छैन,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS