काठमाडौं । उसुको थाउलो टोलीले जापानको आइची-नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षण चीनको कुन्मिङस्थित युनान विश्वविद्यालयमा गर्ने भएको छ ।
खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई हुनु हुन्छ । एसियाली खेलकुदकै लागि छनोट हुनु भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यत्तैबाट टोलीसंग समावेश हुनेछन् । प्रशिक्षकमा प्रकाश महर्जन रहेका छन् ।
एसियाड टोली बाहेक खेलाडी निमा घर्ती मगर र प्रशिक्षक नविन बस्नेत पनि टोलीसंगै चीन जानु हुनेछ । नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीलाई युनान विश्वविद्यालयमा प्रशिक्षणको अवसर मिलेको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चीनियाँ दूतावासका कन्सुलर वाङ दोङले एक कार्यक्रमबीच बिदाइ गरेका छन् । सो अवसरमा चीनियाँ दूतावासकी कन्सुलर वाङ याझे, नेपाल उसु महासंघका महासचिव नवारज ढुंगानालगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा सदस्य–सचिव रामचरित्र मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउने बताउदै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिएका थिए । उनले प्रशिक्षणका लागि सहजीकरण गरिदिएकोमा चीन सरकारलाई धन्यवाद दिदै आभार प्रकट गरेका थिए ।