लगातारको भारी वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पहिरो, गेग्रान र बाढीका कारण सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पाका विभिन्न सडकखण्ड प्रभावित भएका छन् ।
लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि राजमाग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार बिहान तिनाउ गाउँपालिका– ५, चरचरे र केराबारीमा सडकमाथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार सडक डिभिजनसँगको समन्वयमा राजमार्ग खुलाउन आवश्यक समन्वय भइरहेको छ ।
राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जान हिँडेका सवारीसाधन बीचसडकमा अलपत्र परेका छन् । सिद्धार्थ राजमार्ग भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, स्याङजा, पोखरा, बेनी, मुस्ताङलगायतका स्थानमा जाने र बुटवलतर्फ आउने सवारीसाधन चल्ने गर्छन् ।

यस्तै, गुल्मीको कालिगण्डकी कोरिडोरअन्तर्गत कालिगण्डकी गाउँपालिका– २, राक्सेमा सडक माथिबाट पहिरो खसेपछि शुक्रबार बिहानैबाट सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–७, सिस्नेभिर क्षेत्रमा पहिरो खस्दा रुद्रबेनी–वामी टक्सेरा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका– १, बाख्रेमा शुक्रबार राति पहिरो खस्दा रिडी–तम्घास सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उता, रोल्पाको शहीदमार्ग सडकखण्डअन्तर्गत माडी गाउँपालिका– ३, गरगरेमा पहिरोले सडक अवरुद्ध भएको छ । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

यस्तैगरी, प्युठानको नौबहिनी गाउँपालिका– ६, बाग्दुलामा शुक्रबार राति पहिरो खस्दा बाग्दुला बाहाने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भने प्युठानकै प्युठान नगरपालिका– ५, बिजुवारमा पहिरो खस्दा बिजुवार–ढुंगेठाँटी भित्री सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत अर्घाखाँचीको शितगंगा नगरपालिका– २, भुवनपाटामा शुक्रबार दिउँसो सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका– ५, बोदीमा पहिरोले अवरुद्ध भएको सडक पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
पाल्पाको कालिगण्डकी कोरिडोरअन्तर्गत रामपुर नगरपालिका– १, स्याउली बजार क्षेत्रमा पहिरोले अवरुद्ध भएको सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ । भने, सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
उच्च सतर्कता अपनाउन आग्रह
भारी वर्षाका कारण पहाडी जिल्लाका सडकमा पहिरो खस्ने तथा बाढी र गेग्रानका कारण सडक अवरुद्ध हुने क्रम बढेकाले यात्रु तथा सवारीसाधनलाई सम्बन्धित निकायले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
सडक अवरुद्ध भएका स्थानमा सडक डिभिजनसँगको समन्वयमा तत्काल पहिरो तथा गेग्रान हटाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले जानकारी दिए ।
प्रदेश सरकारले मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी आइतबारसम्म हुन सक्ने भारी वर्षापछिको जोखिमबाट सुरक्षित रहन सर्वसाधारणलाई सतर्क र सजग रहन तथा आवश्यक पर्ने पूर्वतयारी अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहमार्फत जानकारी गराउने, आवश्यकताअनुसार विपत् व्यवस्थापनसम्बन्धी कार्यका लागि संघ, प्रदेश, जिल्ला र स्थानीय विपत् व्यवस्थापन समितिहरूबीच आवश्यक समन्वय भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए ।
सम्भावित विपत्लाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको उनले बताए ।
विपत्को अवस्थामा हुन सक्ने सडक यातायात अवरोधलाई मध्यनजर गरी यातायात सुचारु राख्न आवश्यक तयारी र पहल गर्न सम्बन्धित सडक कार्यालय तथा प्रदेशअन्तर्गतका पूर्वाधार विकास कार्यालयलाई तयारी अवस्थामा राखिएको छ ।
विपत्को समयमा अत्यावश्यक सेवा अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलगायत सेवा प्रदायक संस्थालाई अनुरोध गरिएको मन्त्री घिमिरेले बताए ।