काठमाडौं । अध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ ।
आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका छन् । यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवेदन गर्न सक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्नेछन्।
विभागले सबै प्रकारका सेवा शुल्क तथा जरिवानाहरू नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ। सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिनेछ।
विभागले सोबारे जानकारी इमेल तथा एसएमएसमार्फत दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजीकरण गर्ने व्यवस्था मिलाएको छ।
विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो–छरितो सेवा प्रवाह गर्न पूर्ण रूपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली प्रारम्भ गरिएको जानकारी दिए। उनले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताए। विभागले नयाँ वेबसाइट आजैदेखि सुरु गरेको छ।
