धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० विचौलिया पक्राउ परेका छन् ।
प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै अवैध रूपमा कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले बिचौलियालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका–१८ स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक सेवा भवनअगाडि बिचौलियाको गतिविधि भइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।