काठमाडौं – आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज बाँकेले पाँच महीनामा लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ ।
कार्यालयले चालू आर्थिक वर्ष २०७५÷०७६ को पाँच महीनाको अवधिमा एक अर्ब ३४ करोड एक लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब २१ करोड ६७ लाख ५७ हजार सङ्कलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिएका छन् ।
लक्ष्यभन्दा करीब १० प्रतिशत अर्थात् १२ करोड ३३ लाख ९८ हजार कम राजश्व सङ्कलन भएको छ । आन्तरिक राजश्व विभागले चालू आर्थिक वर्षमा कार्यालयले कूल रु तीन अर्ब ५१ करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । कार्यालयले यस अघि साविक भेरी र कर्णाली अञ्चलका १० जिल्लाबाट राजश्व सङ्कलन गर्दै आएको थियो ।
गत वर्ष कार्यालयले चार अर्ब राजश्व सङ्कलन गरेको बताइएको छ । राज्य पुनःसंरचना पश्चात् कर्णाली प्रदेशमा परेका आठ जिल्लालाई सुर्खेतमा हालै स्थापना भएको कार्यालयले हेर्दैै आएको छ ।
कार्यालयले यसअघि भेरी र कर्णालीका गरी १० जिल्लालाई हेर्दै आएको थियो, अहिले बाँके र बर्दियालाई मात्र हेर्दै आएको छ । चालू वर्षको साउन महीनादेखि शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क पनि हटिसक्यो, घरबहाल कर स्थानीय तहमा गइसक्यो, यसले पनि लक्ष्य पूरा हुन नसकेको जानकारी दिएका छन् ।
तत्कालीन समयमा साविक भेरी र कर्णालीका १० जिल्लामा ६५ हजार करदाता थिए । त्यसमध्येका ३४ हजार करदाता सुर्खेतस्थित कार्यालयमा सरेका छन् । नेपालगञ्जस्थित कार्यालयमा बाँके र बर्दियाका पुराना ३१ हजार र नयाँ थपिएका समेत गरेर ३५ हजार ५०० करदाता पुगेका छन् । रासस
FACEBOOK COMMENTS