काठमाडौं,माघ ८ -सरकारले उखु किसानको भुक्तानी नगर्ने उद्योगहरुको कारोबार रोक्का गर्ने भएको छ । सरकारले किसानको बक्यौता भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का गर्न आन्तरिक राजश्व विभागलाई पत्रचार गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरेको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले जानकारी दिए । किसानहरुको भुक्तानी बाँकी रहेका उद्योगहरुलाई किसानको भुक्तानी गर्न बाहेक अन्यमा आर्थिक कारोबार गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको सहसचिव भट्टराईले जानकारी दिए ।
विगत लामो समयदेखि उखु किसानहरुले चिनी उद्योगीहरुले भुक्तानी दिन बाँकी रहेको खरिदको बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आएका थिए । मन्त्रालयले २०७६ माघ ७ गते भित्र भुक्तानी गरीसक्न उद्योगीहरुलाई ‘डेडलाईन’ नै तोकेको थियो । सो अनुसार केहीले पूर्ण भुक्तानी गरेका छन् । केहीले आदि र केहीले औसत रकम भुक्तान गरेका छन् भने केही सम्पर्कमा समेत आएका छैनन् ।
पत्रकार सम्मेलन गर्दै मन्त्रालयले ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने निर्णय गरेको सहसचिव भटराईले बताए । अन्नपूर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हो भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले भाडामा लिएर सञ्चालन गरेका हुन् ।
हालसम्म ५ उद्योगहरुले सबै भूक्तानी गरिसकेका छन् । हिमालय सुगर मिल, इन्दुंकर चिनी उद्योग, ईष्टन सुगर मिल, रिलाइन्स सुगर एण्ड के।ई। र भागेश्वर सुगरले पूर्ण भुक्तानी गरेका हुन् ।
यस्तै, महालक्ष्मी सुगर्स, अन्नपूर्ण सुगर एण्ड जनरल, इन्दस्रा सुगर एण्ड एग्रो र एभरेष्ट सुगर एण्ड केमिकल लगायतका चिनी उद्योगहरुले भने आंशिक रुपमा मात्र भुक्तानी गरेका छन् । महालक्ष्मी सुगर्सले माघ ५ गतेसम्ममा २१ करोड मध्ये ११ करोड ५० लाख रुपैयाँ र अन्नपूर्णले ४२ करोड रुपैयाँ मध्ये ३ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।
इन्दीरा सुगर्सले भने ७४ लाख र एभरेष्टले ७ करोड ९३ लाख रुपैयाँ मध्ये बैंक खाता उपलब्ध नभएका किसानका मात्र भुक्तानी गर्न बाँकी रहेको जानकारी दिइएको छ ।
त्यसै गरी हालसम्म ४ वटा चिनी मिल सम्पर्कमा आएका छैनन् । बाबा बैजुनाथ चिनी उद्योग, वाग्मती खाँडसारी चिनी मिलस,महाकाली सुगर र लुम्बिनी चिनी उद्योग सम्पर्कमा नआएका हुन् ।
FACEBOOK COMMENTS