काठमाडौं, वैशाख ३१ – एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप ‘एनआईसी एशिया मो–बैंक’मार्फत आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ । बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी अगाडि सारेको ‘सेल्फ हेल्प’ बैंकिङको अवधारणाअनुरूप नै यो नयाँ सुविधा ल्याएको हो ।
यो सेवाअन्तर्गत अब बैंकका ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो ‘एनआईसी एशिया मो–बैंक’ एपबाटै रेमिट रकम सहज रूपमा पठाउन सक्ने छन् । उक्त सेवाका लागि ग्राहकले आफ्नो मोबाइल प्रयोग गरी बैंकको ‘एनआईसी एशिया मो–बैंक’ एपभित्र रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवम् ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनाको उद्देश्य छनोट गरी सुरक्षित रूपमा रेमिट्यान्स पठाउन सक्ने बैंकले जानकारी दिएको छ ।
यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने पनि बैंकले बताएको छ । कोरोना भाइरस महामारीको विद्यमान समयमा डिजिटल कारोबार गर्नुपर्ने आवश्यकतालाई बैंकले ल्याएको यो सुविधाले थप सहज हुने विश्वास बैंकले लिएको छ ।
यो सुविधा प्रयोगबाट शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट ग्राहकलाई मुक्ति मिल्नाका साथै ग्राहकको अमूल्य समयको बचत हुने समेत अपेक्षा बैंकले गरेको छ । साथै महामारीका बीच भौतिक दूरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले गरेको छ ।
डिजिटल फष्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले एनआईसी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले ‘सेल्फ हेल्प’ बैंकिङ्गको अभ्यासलाई आफ्नो मोबाइल बैंकिङ्ग ‘एनआईसी एशिया मो–बैंक’ एप तथा ‘आई–सर्भ’मार्फत अघि बढाइरहेको छ ।
यसका साथै मुलुकभर रहेका ३५२ वटा शाखा कार्यालय, ४७१ वटा एटीएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।
FACEBOOK COMMENTS