विकास निमार्णमा सरकारी निकाय नै बाधक
काठमाडौं– चिलिमे–त्रिशूली २२० केभी प्रशारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा डिभिजन वन कार्यालय रसुवाले रोक लगाएको छ।
वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखविरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रुख नभएको नाङगो डाँडामा समेत टावरको जग खन्न सुरु गरेको कामलाई रोक लगाएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नाङगो डाँडामासमेत काम गर्न पाइंदैन अनि कसरी प्रशारण लाइनको निर्माण गर्नु भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले भने ‘प्रक्षेपित मितिमा प्रशारण लाइन बनाउन सकेनौं भनें त्यस करिडोरमा निर्माण भइरहेका आयोजनाको करिव १७० मेगावाट बिजुली खेर जाने अवस्था छ’ ।

चिलिमे–त्रिशुली २२० केभी प्रशारण लाइन आयोजनाको निर्माण चालु आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ।

प्रशारण लाइनको निर्माण तोकिएको समयमा हुन नसकेमा चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधिन ११० मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन लगायतका आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था छ। यस्तो अवस्था आएमा प्राधिकरणले आयोजनाहरुलाई क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ।