काठमाडौं, माघ २१ – सार्वजनिक सवारीको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्ने कम्पनीलाई नेपाल राष्ट्र बैंकले सञ्चालन अनुमति दिएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले फिनटेक प्रालिलाई ‘यात्रा कार्ड’ यात्रा कार्ड सञ्चालन गर्ने अनुमतिपत्र प्रदान गरेको कम्पनीले जनाएको छ ।
राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त गरेसँगै सो कम्पनीले फागुन १ गतेदेखि उपत्यकाका विभिन्न रुटमा चल्ने सवारीसाधनमा स्मार्ट कार्डमार्फत् भाडा तिर्ने व्यवस्थाको सुरुवात गर्नेछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको सो कम्पनीले जनाएको छ ।
पहिलो चरणमा फागुन १ गतेदेखि उपत्यकामा चल्ने ७ वटा रुटमा इलेक्ट्रोनिक टिकेटिङ मेसिनको माध्यमबाट भाडा तिर्ने व्यवस्थाको सुरुवात हुनेछ । सो रुटमा पर्ने ३० वटा स्थानमा सो कम्पनीले अस्थायी बुथ स्थापना गरी कार्डको वितरण गर्ने, रिचार्ज गर्ने र ग्राहक सेवाको सम्बन्धमा जानकारी गराउने व्यवस्था गर्नेछ ।
उपत्यकाभित्र सञ्चालन हुने सवारीमध्ये ६ महिनाभित्र १ हजार र एक वर्षमा ५ हजार बसमा यस्तो सेवा उपलब्ध गराउने लक्ष्य सो कम्पनीले लिएको छ । कम्पनीले सेवा सुरुवात गरेका रुट प्रयोग गर्ने अधिकतम यात्रुलाई ‘यात्रा कार्ड’ वितरण जनाएको छ ।
त्यस्तै ६ महिनाभित्र अनलाइन बस टिकट बुकिङ्ग र बस ट्रयाकिङ वेभ तथा एप तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य सो कम्पनीको छ । कार्ड मार्फत भाडा भुक्तानी गर्ने प्रणालीले यातायात क्षेत्रमा नयाँ युगको सुरुवात हुने र प्रविधियुक्त शहरको पहिचान कायम गर्न समेत सफल हुने विश्वास सो कम्पनीको विश्वास छ ।
FACEBOOK COMMENTS