काठमाण्डौँ – बाराको जितपुरसिमरा उपमहानगर सिमरामा दोस्रो औद्यागिक व्यापार, कृषि तथा खेलकुद महोत्सव सुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको महोत्सवको औपचारिक उद्घाटन नेकपाका नेता एवं प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले गरेका हुन् ।
सिमरा फाउन्डेसन र औद्यागिक शान्ति नेपालको संयोजनमा सुरु भएको महोत्सव आगामी १६ पुससम्म सञ्चालन हुनेछ ।
महोत्सवमा सिमरास्थित नवदुर्गा युवा क्लब, भेट्रान्स क्लब, विकासशील युवा क्लब र जनहित उपभोक्ता समिति आयोजकका रूपमा रहेका छन् ।
सिमरा रंगशालामा सुरु भएको महोत्सवमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व झल्कने २ सयभन्दा बढी स्टल छन् ।
महोत्सव स्थलमा महाभूकम्पले भत्काएको ऐतिहासिक धरहराको प्रतिबिम्ब, बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर, हात्ती र गैंडाका स्तम्भ राखिएको छ ।
महोत्सव स्थलमा कृषिका स्टलसमेत राखिएका छन् ।
महोत्सवमा बालउद्यान तथा अन्य विभिन्न मनोरञ्जनका साधनको व्यवस्था मिलाइएको आयोजक सिमरा फाउन्डेसनका अध्यक्ष हुसेनले बताए ।
–राजधानी
FACEBOOK COMMENTS