काठमाडौं, मंसिर १६ – पोखरामा पहिलो पटक वन्यजन्तुका लागि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । घाइते जंगली जनावरको उद्धार गर्ने, उपचार गर्न र झुक्किएर वा भागेर मानव बस्तीमा आइपुगेका वन्यजन्तुको उद्धार गर्नका लागि वाइल्डलाइफ एम्बुलेन्स सञ्चालनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव महेश्वर ढकालले मानव र वन्यजन्तु द्वन्द्व बढिरहेको अवस्थामा दुवैलाई बचाउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताए ।
एम्बुलेन्स खरिदका लागि मन्त्रालयले झण्डै ४१ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । प्रदेशका कुनैपनि स्थानमा आवश्यकता र भवितव्यमा प्रयोग गर्न सकिने उक्त एम्बुलेन्समा सुरक्षित ट्रलिसमेत जडान गरिएको छ ।
वन्यजन्तुसँग मिल्दोजुल्दो चित्र टाँसेर एम्बुलेन्स सजाइएको छ । सचिव ढकालका अनुसार एम्बुलेन्स सञ्चालन गर्नका लागि चाहिने आवश्यक प्राविधिक जनशक्ति चाँडै नै व्यवस्था गरिने बताए ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले यो एम्बुलेन्सले वन्यजन्तु संरक्षण र मानवको जीवन रक्षामा पनि सहयोग पुग्ने बताए । ‘पछिल्लो समय मासिदै गएका वन्यजन्तुको संरक्षण गर्न आवश्यक छ,’ उनले भने ।
FACEBOOK COMMENTS