गण्डकी प्रदेशमा पछिल्लो समय कोभिड–१९ को संक्रमण तीव्र रुपमा वृद्धि भएको छ । प्रदेशका ११ जिल्लामध्ये कास्की ‘हटस्पट’का रुपमा देखापरेको छ । झण्डै दुई सातादेखि कास्कीको पोखरामा दैनिक सयौं संक्रमित थपिएका छन् । कास्कीका ग्रामीण भेगमा सामान्य प्रभाव देखिए पनि पोखरामा संक्रमण तीव्ररूपमा वृद्धि भएको छ ।
११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कास्कीमा छन् । कास्कीमा ११ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यसमध्ये २ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । पछिल्लो समय संक्रमित अधिकांश ब्यक्ति होम आइसोलेसनमै बसेका छन् । जटिल अवस्थाका संक्रमितबाहेक अन्यलाई अस्पतालमा बेडको ब्यवस्था नभएका कारण धेरै संक्रमितहरु घरमै जोखिम मोलेर बस्न बाध्य छन् । पछिल्लो समय संक्रमण वृद्धिसँगै जटिल अवस्थाका संक्रमितको संख्या पनि बढ्दै गएको छ । प्रदेशमा सीमित श्रोत र साधनको जोहो गरेर सञ्चालन गरिएका अस्पतालका बेडसमेत भरिएका छन् ।
गण्डकी प्रदेशमा जटिलखालका संक्रमितलाई उपचार गर्दै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालका सबै बेड भरिभराउ छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसन सञ्चालनमा आएको ५ दिनमै भरिएको छ ।
निजी क्षेत्रका डेढ दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा रहे पनि आधादर्जन अस्पतालमा मात्र आइसियु सेवा छ । कोभिडका संक्रमितका लागि आवश्यक पर्ने आइसियु वार्ड भएका अस्पतालहरुले महँगो रकम असुल्ने गरेको बिरामीका आफन्तहरु बताउँछन् । अहिले चरक मेमोरियल अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, मेडिप्लस अस्पताल लगायत निजी अस्पतालले संक्रमितको उपचार गरिरहेका छन् ।
करिब ५० सिट क्षमता भएको सरुवा रोग तथा संक्रामक अस्पतालमा अहिले ५५ जना संक्रमितको उपचार भईरहेको अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले जानकारी दिए । संक्रमितको संख्यासँगै गम्भीर प्रकारको बिरामीको संख्या पनि बढेको उनले बताए । ५५ जना संक्रमितमध्ये ४० जनाको अवस्था जटिल रहेको उनको भनाइ छ ।

‘संक्रमणको दोस्रो लहर फैलिने दर उच्च रहेका कारण धेरैजना संक्रमित छन्,’ उनले भने, ‘एकै पटक धेरै संक्रमित भएको र अस्पतालमा स्रोत, साधन सीमित भएकाले धेरैजसो होम आइसोलेसनमा छन् । उनीहरु स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल भर्ना हुन आउने भएकाले धेरैजसो संक्रमित गम्भीर अवस्थाका छन् ।’

अस्पतालमा दैनिक ३०÷३५ वटा ठुला अक्सिजन सिलिन्डर खपत भईरहेको उनले बताए । ‘तर, अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भएको छैन,’ डा।गौचनले भने, ‘अस्पतालमा तोकिएको सिट संख्याभन्दा बढी बिरामी भर्ना गरेर राखिएकाले अब भने कोरोनाको जटिल अवस्थाका बिरामी भर्ना गर्न सक्ने अवस्था छैन ।’