काठमाडौं, वैशाख ३१ – सिटिजन्स बैंक इन्टरनेसनलले बैंकको सूचना अधिकृतमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त गरेको छ । श्रेष्ठ बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथै कम्पनी सचिवको रूपमा र अधिकारी बैंकको सामान्य सेवा, मानव संसाधन, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग कार्यरत छन् ।
करिब २२ वर्षदेखि बैंकिङ क्षेत्रमा क्रियाशील रहँदै आएका सूचना अधिकृत श्रेष्ठले सिटिजन्स बैंकको स्थापनाकालदेखि नै आवद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गर्दै आएका छन् । भारतको पुणेस्थित सिम्बायोसिस इन्ष्टिच्युट अफ बिजनेस म्यानेजमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रबारे राम्रो दख्खल रहेको बैंकले जनाएको छ ।
त्यस्तै प्रवक्तामा नियुक्त भएका अधिकारीसँग करिव १७ वर्षको बैंकिङ अनुभव रहेको बैंकले बताएको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरू डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS