काठमाडौँ, असोज १ – उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेदेखि नियमित सेवा सुरु गर्ने भएका छन् । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि भन्दै साउन २५ गतेदेखि स्थगित गरिएका नियमित सेवाहरु असोज ४ गतेदेखि सुरु गरिने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्ड अपनाई अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक सेवामा दैनिक २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी व्यवस्था मिलाइएको प्रशासन कार्यालयहरुले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको छलफलअनुसार तीनवटै प्रशासन कार्यालयले एउटै ढाँचामा सेवा दिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
प्रशासनले तोकेको बार मिलाएर मात्र कार्यालय आउन पनि सूचनामा सेवाग्राहीलाई आग्रह गरिएको छ । नागरिकता र नाबालक परिचय पत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप एक जना मात्र कार्यालय आउन पनि आग्रह गरिएको छ । सेवाग्राहीलाई अनिवार्य रुपमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
सेवाग्राहीले सेवा लिन आउँदा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने र कार्यालय परिसरमा स्यानिटाइजर प्रयोग गर्न वा अनिवार्य रुपमा हात धोएर मात्र सेवा लिनुपर्ने पनि सूचनामा उल्लेख छ । मास्क नलागाई कार्यालय परिसरभित्र प्रवेश गरे संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना हेर्नुहोस्
FACEBOOK COMMENTS