काठमाडौं, चैत २३ – ओकिन्वा टापु हुँदै चिनियाँ युद्धपोतसहितका सैन्य जहाजहरु तैरिएपछि जापानले चिनियाँ जहाजहरुलाई चेतावनी दिन मिसाइल डिस्ट्रोयर जहाज त्यसतर्फ पठाएको छ।
आफ्नो ओकिन्वा र मियाको टापु नजिकैको जल क्षेत्रबाट चीनको लायोनिङ युद्धपोत, एक रेनहाई मिसाइल डिस्ट्रोयर, दुई लुयाङ मिसाइल डिस्ट्रोयर, एक जियाङ काई र अर्को एक सैन्य जहाज तैरिएको जापानको भनाइ छ।
शनिबार बिहानै चिनियाँ जाहाजहरु आफ्नो टापु वरपर देखिएको जापानको भनाइ छ। त्यस लगत्तै चिनियाँ जहाजहरुलाई चेतावनी दिन जापानले पनि आफ्ना सैन्य जहाजहरु सो क्षेत्रमा पठाएका थिए।
एससीएमपीका अनुसार जापानले जेएस सुजुतसुकी, पी–१ युद्धक विमान, पी–३ सी पनडुब्बी आक्रमण गर्ने विमान सो क्षेत्रमा चिनियाँ गतिविधिको सूचना संकलन गर्न पठाएको छ।
गतवर्षको अप्रिलपछि पहिलोपटक चीनको युद्धपोत लायोनिङ जापानी क्षेत्रमा देखिएको बताइएको छ।
हालै मात्र क्वाडमा आवद्ध जापानले भारतीय र अमेरिकी सेनासँग युद्ध अभ्यास गरेको थियो। अमेरिकी युद्धपोत थियोडर रुजभेल्ट सीएसजीसहित युद्ध अभ्यास भएको थियो।
क्वाडले गत महिना सम्पन्न पहिलो सम्मेलनमा चीनलाई मानवअधिकारको सम्बन्धमा जवाफदेही बनाउने तथा इन्डो प्यासिफिक क्षेत्रमा उसको आक्रामक गतिविधिलाई मत्थर पार्न एक भएर काम गर्ने सहमति गरेका थिए।
यसै हप्ताको शुक्रबार मात्र जापानी प्रधानमन्त्री योसिहिदे सुगा अमेरिका भ्रमणमा जाँदैछन्। त्यहाँ उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग चीन, ताइवान तथा उत्तर कोरियाको विषयमा छलफल गर्नेछन्।
दक्षिण चीन सागरमा चीनको दाबीलाई जापानले विरोध गरिरहँदा तथा सुगाको अमेरिका भ्रमण अगाडि चिनियाँ जहाजहरु जापानी टापु नजिक तैरिएका हुन्।
FACEBOOK COMMENTS