काठमाडौं, बैशाख २१- विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड- १९) जोखिम कम गर्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको छ । लकडाउनका कारण कलकारखाना,उद्योग तथा बजार पूर्ण रुपमा बन्द रहेका छन् । अत्यावश्यक सामान बाहेक अन्यको उत्पादन तथा ढुवानी ठप्प रहेको छ ।
बजार तथा उद्योगधन्दा ठप्प हुदाँ सबैभन्दा बढी मार दैनिक ज्यालादारी गरी आफ्नो परिवारको पेट पाल्ने मजदुरहरुलाई भइरहेको छ । लकडाउनका कारण न त उनीहरु आफ्नो घरगाँउ जान सकेका छन् न त उनीहरुसँग काम छ जस्को मदतले उनीहरु आफ्नो दैनिक गुजारा गर्न सकुन् । यस्तै संकटमा परेका व्यक्तिहरु भोकोपेट सुत्न नपरोस् भनेर अहिले विभिन्न संघसंस्था तथा क्लबहरुले विभिन्न ठाँउका खानाको व्यवस्था गरेका छन् ।
यस्तै लकडाउनका कारण मारमा परेका विपन्न व्यक्तिहरुलाई पानी पोखरी युवा क्लब महाकाल बौद्धले बैशाख १७ गतेबाट दैनिक पाँच सय व्यक्तिहरुलाई खाना खुवाइरहेको छ । क्लबले बैशाख २५ गते पछाडी पनि लकडाउन थप भएमा यो अभियानलाई निरन्तरता दिने बताएको छ । क्लबले कोही व्यक्ति पनि गरिबीका कारण भोकै सुत्न नपरोस् भन्ने हेतुका साथ आफ्नो सामाजिक उत्रदायित्व अन्तर्गत यस अभियानलाई अगाडी बढाएको बताएको छ । साथै क्लबले आगामी दिनमा पनि सामाजिक काममा सधै लागिरहने बताएको छ ।
FACEBOOK COMMENTS