काठमाडौं, पुस १२- नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ ।
पहिरोग्रस्त क्षेत्रका ढुंगा झार्ने काम अझै नसकिएकाले शुक्रवार एक सूचना जारी गर्दै पुस २७ गतेसम्मको लागि थप गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।
गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ ।पहिरो नियन्त्रणको कार्य गर्नको लागि प्रत्येक दिन दिउँसो चारघण्टाको लागि बन्द हुँदै आएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिने छन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ ।
FACEBOOK COMMENTS