नेपाल प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सूचनाका आधारमा प्रहरीले सो रकम बरामद गरेको बताए । उनका अनुसार सो रकम भारतबाट ल्याएर नेपाली सीमा क्षेत्रमा पटक(पटक सटही गरिएको थियो । आफूहरुले सो रकमको ‘कनेक्सन’ खोजिरहेको एसएसपी सिंहले बताए । उनले भने, “प्रारम्भिक रुपमा हेर्दा सो रकम सुन किन्न वा हुन्डी गर्न ल्याइएको हुनसक्छ । यसबाहेक अपराधिक कामका लागि पनि हुनसक्ने सम्भावना रहन्छ । हामी यसको गहन अनुसन्धानमा जुटेका छौं ।
अहिले सबै कुरा भन्न सकिँदैन ।” बरामद रकम र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको छ । प्रहरीले पक्राउ परेका दुवैजनाको ‘हिस्ट्री’ खोजिरहेको एसएसपी सिंहले बताए ।
FACEBOOK COMMENTS