काठमाडौं, भदौ १८ – मोरङको कानेपोखरीबाट प्रहरीले बुधबार साँझ तास खेलिरहेका १२ जना जुवाडेलाई पक्राउ गरेको छ।
कानेपोखरी गाउँपालिका–७ स्थित चालिस बिघेमा तास खेलिरहेको १२ जनालाई पक्राउ गर्नुका साथै २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ, तास चार बुक र मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार झापा, मोरङ र सुनसरीमा व्यापार, व्यवसायीमा संलग्न भएकाहरू भेला भई कानेपोखरीमा तास खेलिरहेको थाहा पाएर इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीको नेतृत्वको टोलीले बुधबार साँझ खालमा छापा हानेको जनाएको छ।
कनेपोखरी–७ का चाम्लिङ क्षेत्री भनिने किशोर लुइँटेलको घरमा विभिन्न सहरका ‘व्यापारीहरू जम्मा भएर तास खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा हान्दा १२ जना पक्राउ पर्नुका साथै खालबाट रकमसमेत बरामद भएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘पक्राउ परेकाहरू विर्तामोड, धरान, इटहरीलगायतका स्थानमा कवाडी, ग्रील, पेन्टिङ र कपडाको होलसेल व्यापारी हुन्।’
‘सबैलाई झुक्याउने उद्देश्यले उनीहरूले आफ्नो सवारीसाधन कानेपोखरी बजारमै छाडेर तीनरचार किलोमिटर तल एकान्त ठाउँको एक घरमा तास खेल्न जाने गरेका रहेछन्,’ एसपी खड्काले भने, ‘तास खेलाउने घरधनी लुइँटेल फरार भएकाले खोजी भइरहेको छ।’ पक्राउ परेकाहरू स्थान परिवर्तन गरी तास खेल्ने गरेको र प्रहरी आएको थाहा पाएर केही भागेकाले लिएर गएका कारण रकम भने करिब तीन लाख मात्रै नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ। चाररपाँच दिनदेखि नियमित रूपमा लुइँटेलको घरमा तासको खाल सञ्चालन भएको थियो।

मोरङको बेलबारी–१ का ३६ वर्षीय विमल गुरुङ, बेलबारी–३ का ३७ वर्षीय कृष्ण लिम्बू, बेलबारी–११ का २८ वर्षीय श्याम लिम्बू, ५२ वर्र्षीय चन्द्र लिम्बू, लेटाङ–५ का ३१ वर्षीय समिर तामाङ पक्राउ परेका छन्। त्यस्तै झापाको विर्तामोड–३ का ३२ वर्षीय लक्ष्मीकुमार तामाङ, विर्तामोड–५ का २७ वर्षीय सञ्जीव घतानी, हल्दीबारी–५ का ३६ वर्षीय ताराकुमार जोगी, बुद्धशान्ति–४ का ३८ वर्षीय मनिष लिम्बू, सुनसरीको धरान–१६ का ३९ वर्षीय रूपजंग लिम्बू, धरान–३ का २९ वर्षीय किरण उदास र इटहरी–२० का राजन पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पथरीले पक्राउ परेकाहरू विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाउन बिहीबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।