काठमाण्डौँ – निषेध गरेको क्षेत्रमा हेलिकप्टर उडान गर्न अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमति चाहिने भएको छ ।
१३ जिल्लालाई सरकारले निषेधित क्षेत्र मान्दै प्रत्येक उडानको लागि अनुमति लिनुपर्ने व्यावस्था गरेको हो ।
विगतमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा गृह मन्त्रालयले सिधै अनुमति दिँदै आएको थियो ।
गत साउनदेखि भने नयाँ कार्यविधि स्वीकृत गर्दै सरकारले तीन स्थानबाट अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको हो ।
जसका कारण एयरलाइन्स कम्पनीहरूलाई भने झन्झट थपिएको छ ।
यता मन्त्रालयले भने निषेधित क्षेत्रमा हुने उडानलाई व्यवस्थपित गर्न नयाँ नियम कार्यान्वयनमा ल्याइएको जनाएको छ ।
सरकारले ताप्लेजुङ, संखुवासभा, सोलखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, बझाङ, दार्चुलाका माथिल्लो क्षेत्रहरूमा उडान गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको मन्त्रालयका हवाई महाशाखा प्रमुख सुरेश आचार्यले बताए ।
गृहले सबै अनुगमन गर्न नसक्ने भएकोले थप व्यवस्थित गर्नका लागि नयाँ व्यवस्था सुरु गरिएको प्रमुख आचार्यको भनाइ छ ।
– कारोबार
FACEBOOK COMMENTS