काठमाडौं, चैत ३ –नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफुखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिएका हुन्।
उनले पार्टी भन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिए। पार्टी विधिविधान अनुसार चल्ने भन्दै उनले मनपरि गर्ने छुट कसैलाई नभएको बताए। कानुनका नजरमा सबै समान हुने भन्दै उनले निर्देशन विपरित गुटगत भेला भएमा कारवाही हुन सक्ने संकेत पनि गरे।
‘भोलि भेला आव्हान गरेको छ रे। नेकपा एमालेसँग आवद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्ने नगराउन, त्यस्ता भेलामा सरिक, सहभागी र नजान सम्पूर्ण नहुन नेता कार्यकर्तालाई सजग सचेत गराउन चाहन्छु। पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु। र त्यस्ता गुटगत भेलाहरुमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु। यस पार्टीमा कसैमाथि अन्याय हुँदैन,’ प्रधानमन्त्रीले भने।जंगलको राज चल्दैन
प्रधानमन्त्री ओलीले सडकमा विधि विधानका कुरा गरेर नेता नेपाल पक्षले जंगलको राज गर्न चाहेको टिप्पणी गरे। लक्ष्मीप्रसाद देवकोटाको कविता जंगलको राजको प्रंसग उल्लेख गर्दे उनले अब पार्टी भित्र अराजकता चल्न नदिने बताए। ‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने? लोकतान्त्रिक मुल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन। अंहकार स्वेच्छाचारिता। अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरु छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्, निहुँ खोजिरहेका छन्,’ उनले भने, ‘७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाईएको छ। उहाँहरु भोलि राष्ट्रिय भेला बोलाउने अनि राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे।
राष्ट्रिय भेलाबाट के के समानान्तर कमिटी बनाउने अरे। समानान्तर होइन अर्को कमिटी बन्ला। कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ, त्यो त के गर्न सकिन्छ? तर यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता, अनुसासनहिनता, उछृंखलता जस्ता कुराहरु , विधि विधान विपरितका कामकारवाहीहरु, पार्टीको एकताविरोधी कृयाकलापहरुमा छुट हुनेछैन। ती कुराहरु मान्य हुन सक्तैन। त्यस्ता कुराहरुलाई हामी सहेर बसिरहन सक्तैनौं। पार्टीलाई पार्टीको रुपमा चल्न नदिने। भाँडभैलो मच्चाउने। जहिले पनि भाँडभैलो मच्चाउने कुरा चाँही हुन सक्तैन।’

उनले पार्टीभित्र विचारमा एकतावद्ध भएर अनुसासित ढंगले काम गर्नुपर्नेमा जोड दिए। सत्य र अनुशासित समाज निर्मााका लागि एकतावद्ध, अनुशासित र गतिशिल पार्टी हुनुपर्नेमा उनले जोड थियो।
