काठमाडौं, कार्तिक २६ – नेपाल कम्युनिस्ट पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक शक्ति बनेका छन् । अब उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावमा जसलाई समर्थन गर्छन् उही बलियो हुन्छ । तर, यी दुईको विवादले नेकपाभित्रको राजनीतिक पासा यसरी पल्टने अवस्था बन्दैछ कि माधव नेपाल सबैभन्दा शक्तिशाली बन्दैछन् ।
नेकपाभित्रको मुख्य शक्तिमध्येका केपी ओली, प्रचण्ड र माधवकुमार नेपाल कोही पनि बहुमतमा नरहेको देखिदैछ । अब दुई नेता मिल्दा मात्र बहुमतको अवस्था हुन्छ । यसकारण ओली र प्रचण्डबीचको विवादमा नेपाल निर्णायक शक्ति बनेका हुन् । उनले तेस्रो शक्तिका रुपमा राजनीतिमा बाजी मार्न खोजेको देखिदैछ ।
नेपाललाई प्रचण्डले प्रधानमन्त्री बन्न सहयोग गर्ने गरी आफ्नो पक्षमा पारेको बुझिएको छ । दशैं अघि नै दुई नेताबीच सहमति बनेको हो । प्रचण्डले पटक पटक ओलीसँग सहमति गरेपनि आफूलाई पेल्ने शैली देखेपछि बरु नेपाललाई प्रधानमन्त्री मान्न तयार हुने गरी कठोर कदम चाल्ने गरी बढेको बुझिएको छ ।
अहिले माधव नेपाल अगाडि बढेपछि उनलाई मनाउन प्रधानमन्त्री ओली सक्रिय भएका छन् । उनले दशैंताका र त्यसपछि गरी तीनपटक नेपालसँग भेटिसकेका छन् । राजनीतिक लेनदेनको कुरा गरेका छन् । विशेषगरी भावी अध्यक्षका लागि सहयोग गर्ने देखि पूर्व एमालेबीचको एकतामा जोड दिएका छन् । तर, प्रचण्ड र वामदेव ओलीसँग सम्झौताका लागि तयार हुँदा पनि नेपाल नडगमगाएकाले यसपटक उनी सम्झौतामा गइहाल्ने अवस्था छैन ।
नेपाल प्रधानमन्त्री बन्ने वातावरण देख्न थालिसकेका छन् । ओली र प्रचण्डको विवादमा उनले मौका पाउने अवस्था आउन सक्ने देखिएको छ । प्रचण्डले नेपाललाई प्रधानमन्त्री मान्न तयार हुने अवस्था बनेकाले उनले ओलीसँग तत्काल प्रधानमन्त्री बन्न सहयोग हुने परिस्थितिमा मात्र सम्झौता गर्न सक्छन् । तर, ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । उनी बरु अविश्वासको प्रस्तावको सामना गर्न तयार रहेको बताइसकेका छन् ।
यस्तो अवस्थामा माधव नेपाल ओलीको भन्दा प्रचण्डको समर्थनमा प्रधानमन्त्री बन्ने परिस्थिति विकास भएको छ । कथंकदाचित् ओली हट्नैपर्ने अवस्था भएमा पूर्व एमाले एक भएर माधव नेपाललाई प्रधानमन्त्री मान्न तयार हुने अवस्था पनि छ । जुन कोणबाट पनि माधव नेपालकै पल्लाभारी छ ।
२०५१ सालपछि नेपाली काँग्रेस र नेकपा एमाले दुवै अल्पमतमा हुँदा राप्रपा तेस्रो शक्ति थियो । त्यतिबेला काँग्रेस र एमालेले एकले अर्कालाई स्वीकार नगर्ने परिस्थितिमा राप्रपाका नेताहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले पालैपालो प्रधानमन्त्री बन्ने मौका पाएका थिए । अहिले नेकपाभित्र माधवकुमार नेपाल तेस्रो शक्ति बनेर अल्पमतमा मौका खोजिरहेका छन् । ओली, प्रचण्ड र नेपाल स्वयंको संसदीय दल देखि पार्टी कमिटीमा स्पष्ट बहुमत नहुँदा उनले प्रधानमन्त्री पद हात पार्ने अवस्था बन्दैछ ।
FACEBOOK COMMENTS