काठमाडौं – वाइडबडी विमान खरिदमा प्रकरणमा गृह सचिव प्रेमकुमार राई निर्दोष पाइएपछि संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदन सच्चिने भएको छ ।
लेखा समितिका सचिव रोजनाथ पाण्डेले राईको पालामा नयाँ जहाज खरिदकै लागि उपसमिति गठन गरिएकाले राई निर्दोष पाइएको बताए ।
पर्यटन मन्त्रालयका अनुसार राईले २ वैशाख २०७३ सालमा नयाँ विमान खरिदका लागि अध्ययन समिति गठन गरेपछि उनको अन्यत्र सरुवा भएको थियो ।
सचिव पाण्डेले राईको पालामा नयाँ जहाज खरिदकै निर्णय देखिएकाले समिति सभापतिको रायअनुसार यस विषयलाई गम्भीरतापूर्वक सच्याउने निर्णय भएको जानकारी दिए । सो निर्णयअनुसार गृह सचिव राई पूर्ण रूपमा निर्दोष साबित हुने भएका हुन् ।
उपसमितिको प्रतिवेदनमा वाइड बडी खरिद प्रक्रियामा भएको अनियमिततामा तत्कालीन पर्यटन सचिव र हालका गृह सचिव राईको नाम राखिएको छ ।
राई १८ माघ २०७२ देखि २७ भदौ २०७३ सम्म पर्यटन मन्त्रालयका सचिव थिए । उनी सचिव रहँदा उनले विमान खरिदबारे कुनै महत्वपूर्ण निर्णय गरेको देखिएको छैन् ।
गृह सचिव राई इमानदार र निर्भीक सचिवका रूपमा परिचित छन् ।
FACEBOOK COMMENTS