काठमाडौं । चीनको विश्वप्रसिद्ध निर्माण उपकरण निर्माता कम्पनी लिउगङ (LiuGong) ब्रान्डका उपकरणको नेपालका लागि आधिकारिक वितरकमा ओम्नी मुभर्स प्रालि नियुक्त भएको छ।
चीनको ग्वाङ्सी लिउगङ मेसिनरीले उत्पादन गर्दै आएका निर्माण उपकरणको बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स अब ओम्नी मुभर्सले नेपालमा उपलब्ध गराउनेछ । यस सहकार्यले निर्माण, सडक, जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा कार्यरत व्यवसायीलाई आधुनिक निर्माण उपकरणमा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ।
सन् १९५८ मा चीनको लिउझाउमा स्थापना भएको लिउगङले ह्विल लोडर, एक्स्काभेटर, ब्याकहो लोडर र मोटर ग्रेडरलगायत ३० भन्दा बढी उत्पादन शृङ्खलाका उपकरण उत्पादन गर्दै आएको छ। कम्पनीका उत्पादन तथा सेवाहरू विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन्।
ओम्नी मुभर्स प्रालि ओम्नी (काबरा) ग्रुपअन्तर्गतको कम्पनी हो। नेपालको अटोमोटिभ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव रहेको यस ग्रुपले व्यावसायिक सवारीसाधन, विद्युतीय मोबिलिटी, निर्माण उपकरण, वित्तीय सेवा, टायर तथा लुब्रिकेन्टलगायतका क्षेत्रमा व्यवसाय विस्तार गरेको छ।
ग्रुपसँग भारतबेन्ज (BharatBenz), चेरी वान्डा (Chery Wanda), अपोलो टायर्स (Apollo Tyres) र भ्याल्भोलिन (Valvoline) जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरू आबद्ध छन्।

लिउगङ र ओम्नी मुभर्सबीचको सहकार्यले नेपालमा आधुनिक निर्माण उपकरणको पहुँच विस्तार गर्नुका साथै बिक्रीपछिको सेवा र प्राविधिक सहयोगलाई थप सहज बनाउने विश्वास गरिएको छ। यसबाट निर्माण तथा पूर्वाधार क्षेत्रमा कार्यरत ग्राहकले उपकरण खरिददेखि मर्मतसम्भार र स्पेयर पार्ट्ससम्मको सेवा एकै वितरकमार्फत प्राप्त गर्न सक्नेछन्।
