काठमाडौ, २९ कार्तिक – कपिलवस्तुमा रहेका भगवान् गौतम बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरुलाई समेटेर गुरुयोजना निर्माण हुने भएको छ ।
प्रदेश नं ५ को महत्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा लिइँदै आएको राजा शुद्धोदनको दरबार तिलौराकोट, हजारौँ शाक्यको सामूहिक बधस्थल सगरहवा, बुद्धले पहिलो पटक भिक्षुलाई सम्बोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा र बौद्धकालीन स्तूप भेटिएको अरौराकोटसहितका सात मुख्य बौद्धस्थललाई समेटेर दीर्घकालीन गुरुयोजना निर्माण गर्न लागिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र बौद्ध परिपथको योजना तथा लुम्बिनी, कपिलवस्तु र रामग्रामभित्रका सबै बौद्ध सम्पदालाई एउटै खाकामा राख्ने योजना रहेको बताए ।
“तिलौराकोटलाई केन्द्रमा राखी गुरुयोजना निर्माण गरिनेछ”, उनले भने, “नयाँ अध्ययनअनुसार तिलौराकोट क्षेत्रमा नेपालको सबैभन्दा पुरानो सभ्यता फेला परेको छ ।” विज्ञका अनुसार बुद्धभन्दा १६ सय वर्षअगाडिको सभ्यता देखिएको छ । “जुन एसियामै तक्षशिला र गान्धार क्षेत्रसँग तुलना गर्न सकिन्छ”, उनले भने, “संरचनालाई दीर्घकालीन संरक्षणको प्राथमिकता दिने गरी योजना बनाइनेछ, करीब ६ महिनाभित्र गुरुयोजनाको खाका निर्माण गरिनेछ ।”
FACEBOOK COMMENTS