काठमाडौं, माघ २०-कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविधुत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ ।कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेकोमा यही माघको पहिलो सातादेखि विधुतगृह पावर हाउस निर्माण शुरु गरिएको आयोजनाले जनाएको छ ।
सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विधुतगृह बनाउन लागिएको छ । मेसिनरी उपकरणबाट विधुतगृहका लागि खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनामा अहिले १०० मजदुरले काम गरिरहेका छन् । नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ । पाइप लाइनका लागि जमिन रेखाङ्कन सकिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविधुत आयोजनाको प्रवद्र्धन गरेको हो । गत साउनदेखि २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिकाअनुसार नै काम अघि बढेको छ ।
कम्पनीका अध्यक्ष पोखरेलले आयोजनाको हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भएर मूल्याङ्कन सकिएकाले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । आयोजनामा लगानीका लागि स्थानीयवासीसमेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् ।आयोजनाले उत्पादन गरेको विद्युत् बर्खायामको छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता छ । आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत माछापुच्छ्रेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक रु ९० लाख सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको बताइएको छ ।
FACEBOOK COMMENTS