काठमाडौं/ सौंन्दर्यको विषयमा नेपालमा अहिलेको पुस्ता निकै नै सजक देखिन थालेका छन्। बरिष्ठ सौंदर्यविद तथा नेपाल सौन्दर्य कला व्यवसाय संघकी अध्यक्ष कमला श्रेष्ठ भन्छिन् ‘सौन्दर्य भनेको मुख वा कपाल मात्र हैन, यो शरीर नै राम्रो र चुस्त दुरुस्त राख्नु हो ।
नयाँ युवाहरुमा सौंन्दर्य प्रतिको रुचिले ३ चिजका फाईदा छन् । एक त मानिस राम्रो हुने नै भयो । त्यस्तै राम्रो देखिन जिउडाल पनि राम्रै बनाउन पर्यो, यसले स्वास्थ्य पनि राम्रो हुने भयो ।
र तेस्रो कुरा झन् महत्वपुर्ण छ, सबै चिज राम्रो भएपछि मानिसमा आत्मविश्वास स्वत: बढ्छ, यसले समाजलाई नै रुपान्तरण गर्छ’ ।
समय अनुसार हरेक क्षेत्रलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिदै श्रेष्ठ भन्छिन ’यसै कारण हामीले दशकौ वर्षको मेहनत पछि सौंन्दर्य सम्बन्धी शिक्षालाई विद्यालय र ११ , १२ को पाठयक्रममा समेत समावेश गरेका छौं ।
अब भाईवहिनीहरुले स्वच्छिक विषयका रुपमा यसलाई पढन सक्नेछन्’ । उनका अनुसार ९ र १० कक्षाका विद्यार्थीले यसलाई शिक्षण सिकाइको रुपमा र ११ र १२ का विद्यार्थीहरुले अध्ययन साथै आय आर्जनको रुपमा लैजान सक्ने बताउँछिन ।
यसका लागि सौंन्दर्य कला ब्यवसाय संघले स्कुल कलेजहरुलाई सघाउने पनि उनले जनाईन् । संघले स्वच्छिक बिषयको रुपमा ग्रहण गर्न चाहने विद्यालय तहका विद्यार्थीका लागि स्कुलमै शिक्षण सिकाईका लागि प्राविधिक व्यवस्थापन गरिदिने र ११,१२ का विद्यार्थीहरुलाई मुख्य सहरहरुमा ल्याबको ब्यवस्था गर्नेछ ।
र अन्य सहरहरुमा संघमा आवद्ध ब्युटी पार्लरहरुलाईनै ल्यावको रुपमा प्रयोग गरेर सरलीकरण गर्ने योजना संघको छ । यसका लागि संघले काठमाण्डौं , ललितपुर , काभ्रे लगायतको महानगरपालिकासँग सहकार्य शुरु गरि सकेको छ भने अरु ठाउँका लागि पनि कार्ययोजना अघि बढाएको छ ।
FACEBOOK COMMENTS