काठमाडौं । नेपाल राष्ट्र बैंकले परिमार्जित विशेषतासहित ५० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइन कायम राख्दै विभिन्न विशेषता थपिएको ५० रुपियाँको नोट चलनचल्तीमा ल्याएको हो ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ ।
नोटको अगाडिको भागमा हिमालको चित्र र लालीगुराँसको पानी छाप रहेको छ । सोही भागमा तलतिर ‘५०’ अंकित पानी छापसमेत राखिएको छ।
त्यस्तै, नोटको पछाडिको भागमा हिँडिरहेको चितुवाको चित्र राखिएको छ। चितुवाको माथिल्लो भागमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने तल्लो भागमा ‘पचास रुपैयाँ र ‘सन् २०२५.’ सिरिज नम्बर उल्लेख गरिएको छ।

राष्ट्र बैंकले साविककै आकार तथा डिजाइनमा परिमार्जित सुरक्षा विशेषतासहित नोट बजारमा ल्याएको जनाएको छ।