काठमाडौं । कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो ।
तर, अहिले भने बैंकिङ क्षेत्र पुनरुत्थानको बाटोमा गएको छ । वाणिज्य बैंकहरूले सोमवारसम्म सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ ।
चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल १८ अर्ब ११ करोड ७३ लाख खुद नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब ५१ करोड ३१ लाखले बढी हो । गत आवको समीक्षा अवधिमा बैंकहरूले १४ अर्ब ६० करोड खुद नाफा कमाएका थिए ।
गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा ८ दशमलव ४ प्रतिशतले घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा बैंकहरूको नाफा दोहोरो अंकले नै बढेको छ ।
यसपालि कोरबैंकिङ व्यवसायबाट नै आम्दानी हुन थालेको माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला बताउँछन् । ‘गत आवसम्म बैंकहरूको नियमित आम्दानी त्यति थिएन । शेयर कारोबारबाट आम्दानी हुने गरेको थियो । तर, अहिले भने नियमित आम्दानीबाट नै नाफा भएको छ,’ उनले भने । अहिले भइरहेको तरलता अभावको प्रभाव भने दोस्रो त्रैमासिकमा देखिन सक्ने उनको भनाइ छ ।
यसपालि नाफा कमाउने मामलामा एनआईसी एशिया बैंक अगाडि देखिएको छ । समीक्षा अवधिमा एनआईसी एशियाले १ अर्ब १८ करोड खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकले १ अर्ब ११ करोड २२ लाख ३४ हजार र तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले १ अर्ब ११ करोड २२ लाख २४ हजार खुद नाफा कमाएका छन् । यी बैंकहरूसहित ५ बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् । तिनमा राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS