पोखरा कात्तिक १८, सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई दिवंगत उद्योगपति, राजनीतिज्ञ तथा सामाजिक अभियान्त सूर्य बहादुर केसीको परिवारले १० वर्षमा डेढ करोड दिने भएको छ ।
स्व. केसीको परिवारले उनको इतिहासलाई जीवन्त बनाई राख्न एकेडेमीलाई वार्षिक १५ लाख दिने गरी १० वर्षका लागि क्लबसँग सम्झौता गरेको हो । स्व.केसीको प्रथम वार्षिक पूण्य तिथीको अवसरमा एक समारोहकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता भएसँगै एकेडेमीको नामाकरण समेत सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी रहने क्लबद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सम्झौतापत्र आदान प्रदान गरिएको हो । २० वर्षदेखि सहाराले आयोजना गर्ने फुटबल प्रतियोगितामा केसी परिवारले प्रमुख प्रायोजन गर्दै पनि आएको छ ।
केसीका छोरा तथा युवा उद्योगपति प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको उन्नयनको लागि सम्झौता गरेको बताए ।
FACEBOOK COMMENTS