काठमाडौँ । न्यायपालिका प्रमुखको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले प्रधानमन्त्री तथा राजनीतिक दलहरूलाई उपयुक्त कदम चाल्न आग्रह गर्ने भएको छ ।
बारको सोमबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध कदम चाल्न दलहरूलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकले आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरेको बारका सचिव लीलामणि पौडेलले जानकारी दिए।
बारले न्यायपालिकामा विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचार र राजनीतिक हस्तक्षेप रोक्नेगरी आन्दोलन गर्न लागेको सचिव पौडेलले बताए। बार बैठकले न्यायपालिकाको समग्र सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले बुझाएको प्रतिवेदन अक्षरश कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ।
बैठकले प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलनलाई निरन्तरता दिँदै कात्तिक २३ देखि ३० सम्म कालो पट्टी बाँधेर धर्ना बस्ने निर्णय गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS