काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ।
राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो। धनतेरसमा सुनका असर्फीको माग बढी हुने भएकाले सर्वसाधारणलाई सहजरूपमा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका एक/एक थान असर्फी खरिद गर्न सक्नेछन्। सुनको प्रचलित बजार मूल्यमा निर्माण लागत जोडेर असर्फीको मूल्य निर्धारण गरिएको छ।

व्यक्तिगत खरिदकर्ताका लागि सुनको बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक मूल्य तय गरिने राष्ट्र बैंकले जनाएको छ।

यस्तै संस्थागत खरिदकर्ताका लागि प्रतिग्राम ३०० रुपैयाँ थप गरी मूल्य निर्धारण गरिएको छ। असर्फी व्यक्ति तथा संस्थाले खरिद गर्नसक्ने व्यवस्था गरिएको छ।

सुन र चाँदीका सिक्का खरिद गर्न बबरमहलस्थित टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड लागेको छ। बिहानैदेखि लामो समय लाइनमा बसेर सर्वसाधारणले सुन तथा चाँदीका सिक्का खरिद गरिरहेका छन्।

