पोखरा कार्तिक २३,प्रदेश नम्बर १ मा प्रमुख रहेका पोखराका सोमनाथ अधिकारी प्यासीलाई सरकारले पदमुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर १ मा प्यासीको ठाउँमा परशुराम खापुङलाई नियुक्त गरेको छ । सरकारले कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनजना प्रदेश प्रमुखलाई पदमुक्त गरिसकेकी छन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।
प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन् । प्यासी एमाले नेता हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा उनको नियुक्ति भएको थियो । सत्ता गठबन्धनले ओलीनिकट भएकै कारण प्यासीलाई पदमुक्त गरेको हो । प्यासी २०७६ कात्तिक १९ गते १ नम्बर प्रदेश प्रमुख नियुक्त भएका थिए । प्रदेश १ मा प्यासीको ठाउँमा नियुक्त खापुङ जनता समाजवादी पार्टीका नेता हुन् । उनी पूर्वसभासद पनि हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका नेता थिए ।
कर्णालीमा प्रदेश प्रमुख बनाइएका तिलक परियार यसअघि प्रदेश २ को प्रमुख थिए । नेकपा माओवादी केन्द्रनिकट उनलाई २ नम्बर प्रदेशको प्रमुखबाट केपी ओली सरकारले पदमुक्त गरेको थियो । सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन् । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि छन् ।
यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए । त्यसबेला पनि दलहरूले भागबन्डा गरी प्रदेश प्रमुख बनाएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकीमा यसअघि नै कांग्रेस चितवनका पुराना नेता पृथ्वीमान गुरुङलाई नियुक्त गरेको थियो । त्यसअघि ओली सरकारले माओवादी निकट अमिक शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
FACEBOOK COMMENTS