काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रदर्शनी मंसिर ३ गतेदेखि सुरु हुने भएको छ ।
नेपाल हस्तकला महासंघले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मंसिर ३ गतेदेखि ५ गतेसम्म सोल्टी होटलमा हस्तकला मेला आयोजना गर्न लागिएको जनाएको हो ।
अन्तर्राष्ट्रिय स्तर तथा मुलुकभित्र आर्थिक क्रियाकलाप संकुचन हुन गई व्यापार मेला प्रदर्शनीहरु आयोजना नभएको, विदेशी पर्यटकहरुको आगमन नभएको अवस्थामा हस्तकलाजन्य वस्तुको आन्तरिक बिक्रीवितरण तथा निर्यात व्यापार समेत प्रभावित भएको महासंघले जनाएको छ ।
कोभिडले हस्तकला उद्योग व्यवसाय क्षेत्रमा प्रतिकुल रुपमा असर परेको अवस्थामा विगतभन्दा नयाँ अवधारणका साथ मेला आयोजना गर्न लागिएको संघले जनाएको छ ।
लोपोन्मुख कलाकृतिहरुको जगेर्ना, मौलिक कलाको संरक्षण गर्नुको साथै नयाँ पुस्ताका कलाकार आप्नो पेशाप्रति आकर्षिक गरी कला पुस्तान्तरण गर्न तथा मौलिक कलालाई विकसित प्रविधिको प्रयोेग गरी अझ समुन्नत बनाउन, कलाकारहरुको खोजिनीति एवं राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रतिभा पहिचान गराउने उद्देश्यले २०४८ सालदेखि परम्परागत विधा एवं समकालिन विद्याहरुमा हस्तकला व्यापार मेला आयोजना गर्दै आईरहेको जनाईएको छ ।
महासंघका अनुसार १८ औं मेलामा जीवन्त प्रतियोगितात्मक हस्तकला, परम्परागत विद्या तर्फ जडाउ कला एवं समसामयिक विद्या तर्फ प्राकृतिक रेशाजन्य मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरी मेला सञ्चालन गरेर पुरस्कृत समेत गरिनेछ ।
जसअन्तरगत प्रथम हुनेलाई ५० हजार, द्धितीय हुनेलाई ३० र तृतिय हुनेलाई पुरस्कार स्वरुप २० हजार प्रदान गरिनेछ ।
मेलामा १२० भन्दा बढी व्यापारिक स्टल, एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री, ईकला नेपाल अनलाईन पोर्टलको शुभारम्भ, हस्तकलाका विभिन्न विद्यामा संलग्न ७० वर्ष नाघेका १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान तथा निर्यातजन्य विभिन्न ३६ विधाका हस्तकला वस्तुको प्रदर्शन हुने आयोजनकले जनाएको छ ।
FACEBOOK COMMENTS