काठमाडौं । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाएका छन् ।
जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भने, ‘यो समयमा बाहिरी वातावरण सुक्खा हुनाले छालामा सोझो असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो, धुवाँले छालालाई थप नोक्सान पुर्याउँछ । बाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ ।’
उनका अनुसार विशेषगरी संवेनदशील छाला भएकालाई यस्तो समस्याले झनै सताउँछ । जाडोमा छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । डा. अमात्य जाडोमा छाला सुक्खा हुनेबित्तिकै जे पायो त्यही क्रिम प्रयोग गर्दा समस्या समाधान हुनुको साटो झन् बढ्ने भएकाले सावधानी अपनाउन सुझाव दिए ।
उनले कतिपयलाई छालाको एलर्जीसमेत हुने भएकाले जाडोमा लगाइने क्रिम (मोइस्चराइजर) छनोट गर्दा निकै विचार पुर्याउनुपर्ने बताए । सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छालाअनुसारको क्रिम छनोट गर्नुपर्ने उनको सुझाव रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS