काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनासम्बन्धी निर्णय नेपालले छिट्टै लिओस् भन्ने चाहना व्यक्त गरेका छन् ।
कमलादीस्थित अमेरिकी राजदूत (यान्डी बेरीको निवासमा संचारकर्मीहरुसँग कुरा गर्दै सहायक मन्त्री लुले एमसीसी परियोजना कार्यान्वयन गर्ने कि नगर्ने भन्ने निर्णयको पर्खाइमा परियोजना नै खेर नजाओस् भन्ने चिन्ता व्यक्त गरे ।
उनले भने ‘समयमै एमसीसी परियोजना कार्यान्वयन गर्न सकिए नेपालको विकासका साथै नेपालीको जीवनस्तर अभिबृद्धिमा टेवा पुग्ने थियो । यदि नेपाललाई नचाहिने हो भने पनि समयमै निर्णय गरे यो परियोजना अर्को देशले पाउने थियो ।’
उनले समाचारमा आएजस्तो एमसीसी संसदबाट पारित गर्न आगामी डिसेम्बर १४ सम्मको कुनै समयसीमा नतोकिएको स्पष्ट पार्दै भने, ‘नेपालको लागि कुनै समयसीमा तोकिएको छैन । मैले प्रत्येक ३–३ महिनामा बस्ने एमसीसी बोर्डको बैठक आगामी डिसेम्बर १४ मा बस्दैछ मात्र भनेको हुँ ।’
अमेरिकी सहायक विदेशमन्त्री लुले एमसीसी परियोजनाले नेपाल र नेपालीको हित हुने अमेरिकाको र आफ्नो व्यक्तिगत धारणा समेत रहेको जिकिर गर्दै एमसीसीबारे नेपालमा गलत सूचना फैंलिएकोमा चिन्ता व्यक्त गरे । लोकतन्त्रको मापदण्ड पूरा गरेका र खुला अर्थतन्त्र भएका थोरै देशले मात्र अमेरिकाको एमसीसी अनुदान प्राप्त गरेको उल्लेख गर्दै उनले भने, ‘एमसीसी हाम्रो चाहनाले नभई नेपालले नै मागेकोले दिइएको हो । अब यसलाई कार्यान्वयन गर्ने वा नगर्ने भन्ने निर्णय सार्वभौम राष्ट्र नेपाल, यहाँको संसद र नेपाली जनताले आफैं गर्ने हो । निर्णय जेसुकै भए पनि हामीलाई मान्य छ ।’
तीन दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायतसँग भेट गरेका लुले सबैजना एमसीसीप्रति सकारात्मक पाइएको बताए ।
यद्यपी एमसीसी परियोजना कार्यान्वयन गर्नेसम्बन्धमा भने कसैले पनि स्पष्ट रुपमा भन्न नसकेको जानकारी गराउँदै उनले भने, ‘सबै नेताहरुले लोकतन्त्रमा आफू एक्लैले निर्णय लिन नसक्ने, अन्य दल, संसद तथा नेपाली जनतासँग छलफल गरेर मात्रै निर्णय लिनसक्ने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS