काठमाडौं । नेपाल बार एसोसिएसनले समग्र न्यायिक प्रक्रिया नै अवरुद्ध हुने गरी आइतबारदेखि शुक्रबारसम्म देशव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि दोस्रोपटक गरेको आग्रहलाई समेत वहिष्कार गर्दै बारले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । दोस्रो चरणअन्तर्गत थप संघर्षका कार्यक्रमहरु घोषणा गरिएको जानकारी दिँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोहीअनुरूप आन्दोलन कार्यक्रम सञ्चालन गर्न देशभरका बार इकाइलाइ पत्र पठाएको बताए ।
प्रधानन्यायाधीशले वार्ताबाटै समस्या समाधान हुने भन्दै वार्तामा आउन गरेको आग्रहलाई अस्वीकार गर्दै बारले राजीनामा माग गरिसकेको अवस्थामा वार्ता औचित्यहीन भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार देशभरका बार एकाइलाई अदालतभित्र दंगा प्रहरी प्रवेश गराई कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन खोजिएको र कानुन व्यवसायीमाथि दमन र कुटपिट गरेको विरोधमा बहस बहिष्कार गर्न आग्रह गरिएको छ ।
त्यस्तै, सोमबार देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने बारले निर्णय गरेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS