काठमाडौं । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यले वैधानिक आम्दानीभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आचार्य र उनको परिवारको वैधानिक आय ६ करोड २५ लाख ६३ हजार रुपैयाँ रहेकोमा खर्च तथा लगानी १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ देखिएको छ ।
आचार्यमाथि गैरकानुनी सम्पत्ति आर्जनसँगै ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत लगाइएको छ ।
मुद्दामा उनकी पत्नी ललिता राजभण्डारी, छोरीहरू निलु र सरू आचार्य तथा प्रभा बस्नेत र कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ । आयोगले पत्नी र अन्य प्रतिवादीमाथि पनि सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारमा सहयोग गरेको आरोप लगाउँदै सजाय र सम्पत्ति जफतको माग गरेको छ ।
