काठमाडौं । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सचिव पदका आकांक्षी अत्यधिक देखिएका छन् । नयाँ विधानले सात सचिवको व्यवस्था गरेको छ । आकांक्षी भने पाँच गुना बढी देखिएका छन् ।
नवौं महाधिवेशनबाट पाँच सचिव निर्वाचित भएका थिए। जसमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य छन्। यीमध्ये गुरुङले महासचिव वा उपाध्यक्षमा दाबी गरेका छन्। ज्ञवाली महासचिव नभए उपमहासचिव पदका आकांक्षी छन्। विष्ट, भट्टराई, आचार्य सचिवमै दोहोरिने सम्भावना छ।
भट्टराईले चितवन पुगेर पुनः सचिवमा उम्मेदवार हुने बताएका छन्। उनले माथिल्लो पदमा जान नखोजेको प्रतिक्रिया दिए। ‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। म अहिले चौतारीमा बस्दै छु। सचिव पदमा उठ्ने तयारी गरेको छु’, उनले अन्नपूर्ण पोस्ट्सित भने। अहिले नै माथिल्लो पदमा जान खोज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भएझैं हुने उनले बताए।
उपाध्यक्ष, महासचिव, उपमहासचिवमा धेरै आकांक्षी भएकाले गुरुङ र ज्ञवाली पनि सचिवमै दोहोरिनुपर्ने अवस्था आउने सक्ने नेताहरू बताउँछन्। पाँच जना दोहोरिए दुई जना मात्रै नयाँ आउने सम्भावना छ। विधानले समावेशी हुनुपर्ने भनेका कारण महिला, दलित, जनजाति, मधेसीलगायतलाई समेट्नुपर्ने अवस्था छ।
त्यसका लागि दलितबाट छविलाल विश्वकर्मा, मधेसीबाट रघुवीर महासेठ, महिलाबाट पद्माकुमारी अर्याल, डा। शिवमाया तुम्बाहाङफे, डा। विन्दा पाण्डे, राधा ज्ञवालीमध्ये आउन सक्ने सम्भावना छ। यस्तै, विष्णु रिमाल, खगराज अधिकारी, लालबाबु पण्डित, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत सचिवका दाबेदार देखिएका छन्। रायमाझी, भट्टले उपाध्यक्ष नभए सचिवको आकांक्षा राखेका छन्। यसका साथै सचिवमा नयाँ अनुहारले पनि दाबी गरेका छन्।
यस्तै, शेरधन राई, भानुभक्त ढकाल, पार्वत गुरुङ, शेरबहादुर तामाङ, कर्ण थापा, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, मणि थापा, राजेन्द्रप्रसाद गौतम, ठाकुर गैरे, यज्ञराज सुनुवार, अरुण नेपाल, डोरमणि पौडेल, यमलाल कँडेल, हिक्मत कार्की, विशाल भट्टराईलगायत पनि सचिव पदका आकांक्षी देखिएका छन्। तर, उम्मेदवारी घोषणा गर्न भने धेरैले अध्यक्ष केपी शर्मा ओलीकै मुख ताकिरहेका छन्। यद्यपि, भित्रभित्रै तयारी भने गरिरहेका नेताहरूको भनाइ रहेको आजको अन्नपूूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS