काठमाण्डौं– कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् ।
सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात ३४ अर्ब २१ करोड बराबरको भएको छ ।
कृषि पेशामा संलग्न हुनसक्ने युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमा नै रहेका युवासमेत शहरी तथा सुगम क्षेत्रमा रहँदा ग्रामीण तथा तराईका खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ ।
आव २०७४÷७५ मा मात्रै ७३ अर्ब १६ करोड बराबरको चामल, मकै, स्याउ, भटमास, आलु आयात भयो । चालू आवको पाँच महीनामा १३ अर्ब ५८ करोड बराबरको चामल आयात भयो । आव २०७४÷७५ मा २९ अर्ब ५३ करोडको चामल आयात हुँदा आव २०७३÷७४ मा २३ अर्ब ८७ करोडको आयात भएको थियो । मसिनो र बास्नादार चामलको माग बढ्दा चामलको आयात बढेको स्वयम् सरकारकै भनाइ छ ।
अर्को तथ्याङ्क पनि छ । नेपालका प्रमुख बालीमध्ये मकै एक हो तर चालू आवको पाँच महीनामा रु पाँच अर्ब १९ करोडको मकै आयात भयो । आव २०७४÷७५ मा रु १२ अर्ब ५५ करोड र आव २०७३÷७४ मा १० अर्ब ६३ करोडको मकै आयात भयो । हरेक वर्ष चामल र मकैको आयात बढिरहेको छ । विप्रेषणबाट प्राप्त भएको ठूलो परिमाणको रकम खाद्यान्नको खरीदका लागि खर्च हुने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको तथ्याङ्कलाई नै आधार मान्ने हो भने चालू आवको पाँच महीनामा सात अर्ब पाँच करोडको भटमास आयात भएको छ । आव २०७४÷७५ मा रु १८ अर्ब १५ करोड र आव २०७३÷७४ मा १६ अर्ब ९७ करोड बराबरको भटमास र भटमासको तेल आयात भएको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार नेपालका करीब ४५ लाख युवा वैदेशिक रोजगारीमा छन् । उनीहरुले वार्षिक नेपालमा पठाएको ठूलो परिमाणको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आव २०७४÷७५ मा सात खर्ब ५५ अर्ब छ करोड विप्रेषण आप्रवाह भएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा रु चार खर्ब ४३ अर्ब ३६ करोड विप्रेषण आप्रवाह भएको छ ।
चालु आवको पाँच महीनामा मात्रै रु तीन अर्ब ९९ करोडको आलु आयात भएको छ । चिप्स प्रयोजनका लागि आलुको आयात बढिरहेको छ । नेपालमा चिप्सका लागि आलु खासै उत्पादन गरिँदैन । आव २०७४÷७५ मा छ अर्ब ३५ करोड र आव २०७३÷७४ मा रु पाँच अर्ब ५२ करोडको आलु आयात भएको छ ।
यस्तै चालु आवको पाँच महीनामा दुई अर्ब ५६ करोडको स्याउ आयात भएको छ । आव २०७४÷७५ मा रु पाँच अर्ब ६३ करोड र आव २०७३÷७४ मा चार अर्ब ८७ करोडको स्याउ आयात भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कृषिउपज आयात ठूलो मात्रामा भइरहेको छ । रासस
FACEBOOK COMMENTS