काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ। कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार यस वर्ष गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालित परीक्षामा नियमित,ग्रेड वृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ परीक्षार्थीको सहभागिता थियो।
नियमिततर्फ मात्र ३ लाख ३८ हजार ६ सय ८८ परीक्षार्थीको सहभागिता थियो। गत वर्ष भने ३ लाख १० हजार ३ सय १६ जना विद्यार्थीले सहभागिता जनाएका थिए।
यसपालि नियमिततर्फ जिपिए ३।६१ देखि ४ अर्थात् ‘ए’ प्लस ग्रेड ल्याउनेको संख्या ७ हजार ६३ रहेको नियन्त्रक शर्माले जनाए। नतिजा गत वर्षको भन्दा सुधार भएकाले यो वर्ष जिपिए ४ ल्याउने शून्य रहेको नियन्त्रक शर्माको ठहर छ। ‘कोभिडका कारण गत वर्ष विद्यालयले नै परीक्षा लिएको थियो।
बोर्डले उत्तरपुस्तिका परीक्षण र समपरीक्षण गरी नतिजा प्रकाशित गरेको थियो। गत वर्ष जिपिए ४ ल्याउने ४८ पुगेका थिए,’नियन्त्रक शर्माको विश्लेषण छ, ‘यो वर्ष बोर्डले नै प्रश्नपत्र बनाउनेदेखि परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मको काम गर्यो। यसपटक जिपिए ४ ल्याउने शून्य रहे ।’ उनले थपे, ‘यसपटक माथिलो ग्रेडमा कम विद्यार्थी परेका छन्।’
सबैभन्दा बढी विद्यार्थी जिपिए २.४१ देखि २.८० अर्थात् ‘बी’ ग्रेडमा छन्। यो समूहमा ९९ हजार ५ सय ३७ विद्यार्थी छन्। ‘ए’ ग्रेड अर्थात् जिपिए २.२१ देखि ३.६० ल्याउने विद्यार्थी ४८ हजार २ सय ३९ जना छन्। जिपिए २.८१ देखि ३.२० ल्याउने विद्यार्थी ७० हजार १ जना रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS