काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव किम्को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएका हुन्।
यस वर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ । किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका वातावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य किनोट प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । महोत्सव चलचित्र विकास बोर्डको हलमा हुनेछ । किम्फमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गगरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्र अनलाइन र प्रत्यक्ष रुपमा दर्शकले हेर्न सक्नेछन् ।
यो वर्ष किम्फ र युरोपेली संघले नेपाली चलचित्र मेकरहरुका लागि ‘ग्रीन ग्रोथ–ग्रीन रिकभरी’ शीर्षकमा लघु चलचित्र प्रतियोगिता पनि गरिने छ । महोत्सवमा अनलाइनबाट देखाइने चलचित्रहरु किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने जनाइएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नेलाई २ लाख रुपैयाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो स्थान हासिल गर्नेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपैयाँ र उत्कृष्ट चलचित्रले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
FACEBOOK COMMENTS