काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने युनिक लुद्दिन इन्टरनेशनल प्रालिविरुद्ध ३२ करोड रुपैयाँ मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले जमालद्दिन अन्सारी, जयकिशोर साह, सूर्यजित प्रसाद साह र तोयनाथ अधिकारीलाई प्रतिवादी बनाउँदै बुधबार मुद्दा दायर गरेको हो । अभियुक्तमध्ये जमालद्दिन अन्सारी युनिक लुद्दिन इन्टरनेशनल प्रालिका सञ्चालक हुन् ।
अन्सारीको कम्पनीले वस्तु तथा सेवा खरीद नै नगरी झूठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेत छली गरेको विभागको आरोप छ ।
अभियुक्तहरूमध्ये जमालद्दिन बाराका, जयकिशोर र सूर्यजित सिरहाका तथा तोयानाथ सर्लाहीका हुन् । उनीहरूलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ (संशोधनसहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को उपदफा (क), (ख) र (झ)बमोजिम कसूर गरेको पुष्टि गर्दै सोही ऐनको दफा २(छ१) (ङ) बमोजिम दाबीविगोसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागले ३२ करोड ८ लाख ९२ हजार ८६६ रुपैयाँ सजाय मागदाबी गरेको छ ।
त्यस्तै न्यू माया ट्रेड कन्सर्नका प्रोप्राइटर भुवन मुखिया विनविरुद्ध पनि मूल्य अभिवृद्धि कर र आयकर छली गरेको आरोपमा ३१ लाख ४२ हजार ६५६ रुपैयाँ बिगोसहित ६२ लाख ८५ हजार ३१२ रुपैयाँ बराबरको माग दाबीसहित बुधबार मुद्दा दायर गरेको विभागले जनाएको छ ।
त्यस्तै, बुद्ध ज्वेलरी वर्कशपले राष्ट्र बैंकको निर्देशनविपरित सुन पैठारी र अवैध रुपमा सुनको विक्रीवितरण गरेको आरोपमा १२ करोड ५ लाख ८५ हजार ९७८ रुपैयाँको बिगो सहित २४ करोड ११ लाख ७१ हजार ९६५ रुपैयाँ बराबराबरको माग दावी सहित बुद्ध विश्वकर्मा (शंकर) मेघराज विश्वकर्मा, अमिर लगुन विश्वकर्मा र बुद्धिमान खातिविरुद्ध विभागले मुद्दा दायर गरेको छ ।
FACEBOOK COMMENTS