काठमाडौँ – राष्ट्रिय सर्तकता केन्द्रले केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरेको छ ।
संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र पुराना केहीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।
उहाँका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, विशेष अदालत, महान्याधिवक्ता कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा नियुक्त कर्मचारीले सम्बन्धित आ–आफ्नो कार्यालयमा, महान्याधिवक्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण बुझाउन पर्नेछ ।
निजामती कर्मचारी र शिक्षकले समेत राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण बुझाउन पर्नेछ ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई यस पटकदेखि सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरिएको छ ।
यस पटक भदौ २८ गतेभित्र कर्मचारीले तोकिएको ठाउँमा सम्पत्ति विवरण बुझाउनुपर्ने छ ।
– गोरखापत्र
FACEBOOK COMMENTS