ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उहाँले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताएका हुन् । मन्त्री भुसालले बताए, “विकास निर्माण कार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत हुनुपर्छ । सँधै जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।”
उहाँले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । ठेचोबासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवद्र्धन गरेर उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले बताए, “यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको हो ।” रु/- ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायमका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।
सो अवसरमा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिए । उहाँले पार्कलाई २४ सै घण्टा प्रयोग गर्न सकिनेगरी सिसिटिभी र बिजुलीबत्तीको उपयुक्त व्यवस्था गरिने बताएका छन् । कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष जगतबहादुर महर्जनले वडाको विकासमा संघ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको बताएका छन् ।
FACEBOOK COMMENTS