काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत ३’ले पहिलोपटक भारतको मुम्बईमा पत्रकार सम्मेलन गरेको हाे । मंगलबार मुम्बईको एक रेस्टुरेन्टमा भएको पत्रकार सम्मेलनमा निर्देशक सन्तोष सेन, कलाकार प्रदीप खड्का र क्रिस्टिना गुरुङ भारतीय सञ्चारमाध्यमबाट घेरिए ।
अभिनेता खड्काले भारतमा फिल्मको प्रचार अभियान सुरु भएको भन्दै नेपाल र भारतबीच खुला सीमानासँगै खुला हृदय भएको पनि भएको बताए । ‘नेपाल र भारतबीच खुला सीमा मात्र छैन, हामीसँग खुला हृदय पनि छ,’ प्रदीपले भने ।
पत्रकार सम्मेलनमा अभिनेत्री क्रिस्टिना गुरुङले फिल्मको कथावस्तुले नेपाल र भारतलाई जोड्ने भन्दै भारत मुलुकका दर्शकले फिल्म रुचाउने बताइन् । निर्देशक सेनले भारतमा नेपाली फिल्मको बजार खोज्न ‘प्रेमगीत ३’ले भूमिका खेल्ने बताए ।
असोज ७ गते फिल्म नेपाल र भारतसहित विश्व बजारमा रिलिजको तयारीमा छ । जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले फिल्मलाई भारतमा रिलिज गर्न लागेका हुन् ।
अहिले दिल्ली र मुम्बईका सडकमा समेत फिल्मको होर्डिङ बोर्डसहित प्रचारप्रसार सुरु भएको छ । हल रिलिजको आठ सातापछि यो फिल्म अमेजन प्राइममा समेत रिलिज हुने भएको छ ।
FACEBOOK COMMENTS