काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताए ।
सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन् । शुक्रबार एमालेको कार्यशाला गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति कडा आलोचना गरेका हुन् । उनले यो गठबन्धनले पाँच वर्ष सरकार चलाउने हाे भने देश ध्वस्त हुने आरोप लगाए ।
‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौँ, उनको जिन्दगी छटपटीमै बित्छ । ‘करबटे बदल्ते रहे सारे रात हम’ जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।
उनले इतिहासमै अहिले जस्तो राज्य संयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उनले बताए । ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलबाड रु’ ओलीले भने ।
FACEBOOK COMMENTS